रुपन्देही सरकारी वकिलको कार्यालय तथा इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान तथा घटनालाई फितलो बनाई आफूमाथि थप अन्याय गरेको भन्दै पीडित भैरहवा १५ ले जिल्ला हुलाक कार्यालय रुपन्देहीमार्फत् पूरक जाहेरी दिइन् ।
प्रहरीले फागुन २५ गते पीडित र उनका बाबुलाई जाहेरी सनाखतका लागि पत्र पठायो । पत्र प्राप्त भएपछि पुनः घटना वारदात र सबै विवरणको जानकारी गराउने क्रममा मुद्दा फाँटका प्रहरीले अभद्र व्यवहार गरेको बलात्कृत युवतीको दुखेसो छ ।
त्यसपछि जिल्लाका सत्तारुढ केही कम्युनिस्ट नेता र पालिका अध्यक्ष स्वयंले सरकारी वकिल कार्यालयमार्फत मुद्दा नचल्ने बनाउन सबै हतकण्डा प्रयोग गरेको पीडित परिवारको आरोप छ । त्यसपछि परिवारलाई विभिन्न डर,त्रास,धम्कीसमेत आइरहेको पीडित भैरहवा १५ बताउँछिन् ।
यस्तो थियो घटनाः
पीडित भैरहवा १५ को जाहेरी तथा बयानअनुसार असोज ५ गते बुटवल डेराअघि सामान किन्न गएको बेला गाउँकै चिनेको सन्तकुमार यादवले सिध्दबाबा घुम्न जाने र भाइ(पीडितको) पनि जाने भन्दै नशालु पदार्थ मिसाएको पानी खुवाए । त्यसपछि इ-रिक्सामा हालेर सिध्दबाबा लगी पुनः उही पानी खुवाएर देवीनगरस्थित आफ्नो डेरामा लगे ।
यादवले युवतीलाई कोठामा हात खुट्टा बाँधेर मुखमा कपडा कोची थुनेर बलात्कार गरे । लगत्तै फोन गरेर गाउँपालिका अध्यक्ष चौधरीलाई कोठामा बोलाए । त्यसपछि युवतीलाई लठ्याउने इन्जेक्सन दिएर हात समात्दै अपशव्द बोले,घरमा कसैलाई नभन्न धम्की दिएर बाहिरिए । त्यो रात यादवले चार पटक बलात्कार गरेको उनी बताउँछिन् ।
सामूहिक बलात्कार आरोपको मतियार भनिएका अध्यक्षमाथि मुलुकी संहिताको दफा २१२, २१३ अन्तर्गत, दफा ३६, र दफा २२७ क बमोजिम अपहरण, शरीर बन्धक, सामुहिक बलात्कारको मतियार, घटना ढाकछोप गरेको, सहयोग गरेको, आरोपी भगाएको लगायतमा आरोप पुष्टि हुने आधार रहेको पीडित पक्षका अधिवक्ताहरुको दाबी छ । यस्तो घटनामा पीडित आफैले बयान र सनाखत गरेको अवस्थामा सरकारी वकिल कार्यालयबाट मुद्दा नचल्ने सम्भावना नहुनुपर्ने उनीहरुको तर्क छ ।
यससम्बन्धमा इलाका प्रहरी कार्यालय बुटवलले सामुहिक बलात्कार मुद्दा दर्ता भइसकेको र एक जना यसअघि नै पक्राउ परेको बताएको छ । डिएसपी इन्द्र रानाले पूरक जाहेरीको सनाखत भइसकेको,घटना वारदात र अवस्थाअनुसार सरकारी वकिल कार्यालयले मुद्दा प्रक्रियाका बारेमा निर्णय गरेपश्चात मात्र थप प्रक्रिया अघि बढाइने बताएका छन् । शुध्दोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले भने आरोप निराधार रहेको बताउँदै आफू पीडित परिवारसँगै ६ गते बेलुकी बुटवल गएर युवतीको उध्दार गरेको बताए ।
सभार- जनाअस्था











