कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ बनकसबासा गाउँमा खानेपानी व्यवस्था पुगेको छ। लामो समयदेखि पिउने पानीको अभाव झेल्दै आएका स्थानीयवासीले अब आफ्नै गाउँमा सुरक्षित खानेपानी पाउने भएका छन्। यससँगै पानी लिन खोला धाउनुपर्ने बाध्यता हटेको वडा अध्यक्ष खिमविक्रम के.सी.ले जानकारी दिनुभयो।
खानेपानीका लागि पहिले नै पहल भए पनि हाल मात्र विद्युतिय मोटरमा विद्युत् आपूर्ति गरी जमिनमुनिबाट पानी निकालिएको छ। मोटरबाट तानेर पानी ट्याङ्कीमा जम्मा गरिने र त्यसपछि घरघरमा वितरण गरिने योजना रहेको छ।
यस खानेपानी योजनाको सफल कार्यान्वयनमा लुम्बिनी प्रदेशका सांसद अर्जुन कुमार के.सी.को विशेष पहल रहेको वडा अध्यक्ष के.सी.ले बताउनुभयो। खानेपानीको सुनिश्चिततासँगै स्थानीयवासीहरू खुशी व्यक्त गरिरहेका छन्।










