कपिलवस्तु -नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले मोतिपुर-तौलिहवा ३३ केभी डबल सर्किट लाइन निर्माण सम्पन्न गराउन सहयोग गर्ने सरकार र गृहमन्त्रालयलाई धन्यवाद व्यक्त गरेका छन्।
बुधबार नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्र कपिलवस्तुले आयोजना गरेको उद्घाटन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै उनले सरकार र गृहमन्त्रालयका निकायहरूको भूमिका महत्वपूर्ण र प्रशंसनीय रहेको उल्लेख गरेका थिए ।
लामो समयदेखिको अवरोध हट्दै मोतिपुर-तौलिहवा ३३ केभी डबल सर्किट लाइन सञ्चालनमा आएपछि सदरमुकाम तौलिहवा, कपिलवस्तु नगरपालिका, यशोधरा, मायादेवी र शुद्धोधन गाउँपालिकामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा उपलब्ध हुने घिसिङ्गले बताए।
नयाँ ३३ केभी लाइन सञ्चालनमा आएपछि स्थानीय उद्योग, व्यापारिक प्रतिष्ठान तथा सिँचाइ प्रणालीलाई सहज र नियमित विद्युत आपूर्ति हुनेछ, जसले स्थानीय आर्थिक गतिविधि र व्यवसायिक उत्पादनलाई प्रवर्द्धन गर्ने घिसिङ्गले बताए।
कार्यक्रममा प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि, प्राधिकरणका उच्च अधिकारीहरू, उद्योगी-व्यवसायी, पत्रकार तथा स्थानीयबासीहरूको उपस्थिति रहेको थियो।











