कपिलवस्तु - कपिलवस्तुको शिवराज नगरपालिका–१, बनकट्टामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहले ‘सी गार्मेन्ट’ संचालन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गार्मेन्टको उद्घाटनमा बोल्दै स्वदेशी उत्पादनलाई आत्मनिर्भर अर्थतन्त्रको जग बनाउनुपर्नेमा जोड दिनुभयो। नेकपा आत्मनिर्भर अर्थतन्त्रको मार्गमा हिँड्ने पार्टीको रूपमा अगाडि बडेको भन्दै सबैलाई उत्पादन र ब्यवसायमा लाग्न आग्रह गर्नु भयो ।
स्वदेशी उत्पादन र श्रमको सम्मान नगरी आर्थिक क्रान्ति सम्भव नभएको भन्दै नागरिकलाई आर्थिकसंग जोड्न सी गार्मेन्ट जस्ता उत्पादनमूलक उद्योगहरूले टेवा पुराउने बताउनु भयो । यो गार्मेन्ट संचालनमा आएसंगै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्रमा सहयोग हुने बताउनु भयो ।
नेकपाले विभिन्न उत्पादनमूलक उद्योग सञ्चालन गरी पार्टीको आर्थिक सशक्तिकरण गर्ने योजना बनाएको बताउनु भयो । गार्मेन्टमार्फत उत्पादन गरिएका सामग्रीहरू स्थानीय तथा राष्ट्रिय बजारमा बिक्री गरिने उहाँले बताउनु भयो । गार्मेन्ट सञ्चालनबाट नेपाली जनतालाई स्वदेशी वस्तु प्रयोग गर्न उत्प्रेरित गर्ने तथा स्थानीय स्रोत-साधनको अधिकतम उपयोग गर्ने उद्देश्य रहेको बताउनु भयो । नेकपाले संचालन गरेको गार्मेन्टको उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य एवम् पूर्व वन मन्त्री अर्जुन केसीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न यस्ता लघु तथा मध्यम उद्योगहरू आवश्यक रहेको बताउनुभयो।
उत्पादनशील अर्थतन्त्रको विकास र आत्मनिर्भर आर्थिक प्रणालीको आवश्यकता रहेको भन्दै आर्थिक क्रियाकलापमा जोड दिनुपर्ने जोड दिनु भयो । कार्यक्रम लाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नगरपालिकाले उद्यमशीलतालाई प्रवर्द्धन गर्ने नीति लिएको भन्दै उद्योगहरू नगरकै विकासको लागि महत्त्वपूर्ण रहेको बताउनुभयो। नेपाली कांग्रेसका जिल्ला उपसभापति हुमकान्त खनाल, नेपाल आदर्श माविका प्रधानाध्यापक मुक्ती पोख्रेल लगायतका व्यक्तिहरूले शुभकामना मन्तव्य राख्दै, उद्योग स्थापनाले रोजगारीको अवसर सिर्जना गर्न योगदान पुग्ने धारणा राख्नु भएको थियो ।
आर्थिक सशक्तिकरण, स्वदेशी उत्पादन प्रवर्द्धन र स्थानीय रोजगारी सिर्जना गर्ने मुख्य उदेश्य सहित गार्मेन्ट संचालनमा ल्याएको संचालक सन्तोसी बिश्वकर्माले बताउनु भयो । कार्यक्रममा स्थानीय समाजसेवी, उद्योगी, शिक्षक, विद्यार्थी, पत्रकार तथा नेकपाका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।












