कपिलवस्तु, चन्द्रौटा— नेपाल धितो पत्र बोर्डको आयोजनामा र चन्द्रौटा उद्योग वाणिज्य संघको सहकार्यमा शिवराज नगरपालिकामा वित्तीय साक्षरता तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा धितो पत्र बजार तथा बस्तु विनियम बजारमा लगानीकर्ताहरूलाई आवश्यक पर्ने ज्ञान र सचेतनाका विषयमा विशेष छलफल गरिएको थियो।
धितो पत्र बोर्ड नेपालका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले कार्यक्रमलाई सहजीकरण गर्दै नेपालको वित्तीय प्रणाली, पुँजीबजार, विमा, सहकारी लगायतका महत्वपूर्ण पक्षहरूबारे विस्तृत जानकारी प्रदान गर्नुभयो। साथै, लगानीकर्ताहरूले आफ्नो लगानी सुरक्षित गर्ने उपायहरू, शेयर बजारको अवस्था अध्ययन गर्ने विधि तथा वित्तीय जोखिम व्यवस्थापनका उपायहरूबारे विस्तृत रूपमा जानकारी गराउनुभयो।
कार्यक्रमको अध्यक्षता चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डेले गर्नुभएको थियो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जमशेर अली मियाँले स्वागत मन्तव्य राख्दै देशको आर्थिक अवस्था अस्थिर राजनीतिक परिस्थितिका कारण कमजोर बनेको बताउनुभयो। उहाँले आर्थिक नीति निर्माण भए पनि कार्यान्वयन कमजोर भएकाले अर्थतन्त्रमा समस्या आइरहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रम चन्द्रौटा उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन संघका महासचिव यदा क्षेत्री (राजकुमार)ले गर्नुभएको थियो। सहभागीहरूले वित्तीय साक्षरताका यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्ने माग गर्दै यसले लगानीकर्ताहरूलाई सही निर्णय गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।











