कपिलवस्तुको शिवराज नगरपालिका-५ नौडिहवाका स्वर्गीय सञ्चारकर्मी दुर्गा प्रसाद काफ्लेको परिवारलाई कपिलवस्तुका पत्रकारहरूको टोलीले सहयोग रकम प्रदान गरेको छ। प्रेस चौतारी नेपाल कपिलवस्तु, नेपाल पत्रकार महासंघ कपिलवस्तु, लुम्बिनी दर्पण साप्ताहिक तथा जिल्लाका अन्य पत्रकारहरूले संयुक्त रूपमा संकलन गरेको कुल ४६,००० रुपैयाँ सहयोग रकम स्वर्गीय काफ्लेका बुवालाई हस्तान्तरण गरिएको हो। प्रेस चौतारी नेपाल कपिलवस्तुले २०,००० रुपैयाँ, नेपाल पत्रकार महासंघ कपिलवस्तुले १०,००० रुपैयाँ, लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकले ५,००० रुपैयाँ, र जिल्लाका अन्य पत्रकारहरूले ११,००० रुपैयाँ संकलन गरेका थिए। उक्त सहयोग रकम प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, र नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष तथा लुम्बिनी दर्पण साप्ताहिकका प्रबन्धक मोहन बेल्बासेले हस्तान्तरण गर्नुभयो। साथै, कपिलवस्तुका सक्रिय सम्पूर्ण पत्रकारहरूले शोक सभा मार्फत स्वर्गीय काफ्लेको प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौनधारण गरेका थिए र शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका थिए। नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले सञ्चारकर्मी काफ्लेको निधनप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा शोकाकुल परिवारको साथमा सदैव रहने बताउनुभयो। शोक सभाको सञ्चालन नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव सनिउल्ला धोवीले गर्नुभएको थियो।










