कपिलवस्तु । कार्तिक शुक्ल पूर्णिमा (नहान मेला) को अवसरमा कपिलवस्तुको शिवराज नगरपालिकाले मंगलबार स्थानीय बिदा दिएको छ ।
नगरपालिकाले सूचना जारी गर्दै २०८३ मंसिर ८ गते मंगलबार नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) तथा सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय बिदा दिने जनाएको हो ।
हिन्दू धर्मावलम्बीहरूको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको कार्तिक शुक्ल पूर्णिमाका अवसरमा विभिन्न नदी तथा घाटमा नहान मेला लाग्ने गर्दछ । यस दिन नदी तथा जलाशयमा स्नान गरी पूजाआजा गर्ने धार्मिक परम्परा रहेको छ ।
नगर प्रमुख अजय थापाद्वारा हस्ताक्षरित सूचनामार्फत नगरपालिकाले नहान मेलाको अवसरमा सम्पूर्ण नगरवासीमा शुभकामना समेत व्यक्त गरेको छ ।









