कपिलवस्तु । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी स्थानीय तह निर्वाचनबाट एमाले पुरानै लयमा फर्किने दाबी गर्नुभएको छ ।
शिवराज नगरपालिका–५, चन्द्रौटामा नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा महासचिव पोखरेलले समसामयिक राजनीतिक विषय तथा पार्टीको आगामी रणनीतिबारे छलफल गर्दै संगठनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
नयाँ आशा र अपेक्षासहित जनताले विश्वास गरेर जिम्मेवारी दिए पनि यो सरकारले छोटो समयमै जनविश्वास गुमाएको बताउनुभयो । सरकारका कामकारबाहीले नागरिकको भरोसा कमजोर बनाएको बताउनु भयो । आफ्नो स्वार्थका लागि अनलाइन प्रणाली हटाएर सरकारी कामकाजमा कागजी प्रक्रियाबाट काम अघि बढाइएको उहाँको आरोप थियो ।
भेटघाट कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, अर्जुन केसी, गोपाल थापालगायत जिल्ला तथा नगर तहका नेता–कार्यकर्ताको सहभागिता रहेको एमाले शिवराज नगर कमिटीका उपसचिव रणदीप खतिवडाले जानकारी दिनुभयो ।









