कपिलवस्तु, शिवराज नगरपालिका–१ धानखोलामा महाशिवरात्रीको पावन अवसरमा भव्य मेला आयोजना गरिएको छ। शिव मन्दिर व्यवस्थापन समितिको आयोजनामा फागुन २ र ३ गते भजन–कीर्तन, भण्डारा तथा विविध धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू सम्पन्न हुने भएका छन्।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिनेश पुनका अनुसार मेलाको मुख्य उद्देश्य धार्मिक पर्यटन प्रवर्द्धन गर्दै ऐतिहासिक स्थल शिवगढीको संरक्षण, विकास र प्रचारप्रसार गर्नु रहेको बताउनुभयो । “पूण्य प्राप्तीसँगै ऐतिहासिक किल्ला अवलोकन गर्न शिवगढी जाऔँ, धार्मिक पर्यटन तथा सामाजिक समृद्धिमा टेवा पुर्याऔँ” भन्ने मूल नारासहित कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
शिवगढी क्षेत्र धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ। प्रत्येक वर्ष शिवरात्रीका दिन यहाँ हजारौँ भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। यस वर्ष पनि भक्तजनहरूको सहजताका लागि शान्ति–सुरक्षा, पूजाआजा तथा निःशुल्क भण्डाराको विशेष व्यवस्था गरिएको आयोजकले जनाएको छ।
मेलामा सांस्कृतिक झल्को प्रस्तुत गर्ने नृत्य प्रतियोगिता, स्थानीय कलाकारहरूको विशेष प्रस्तुति तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिनेछ। फागुन २ गते साँझ र ३ गते दिउँसो सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ।
शिवगढीको धार्मिक तथा ऐतिहासिक महत्व उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले हरेक वर्ष यसरी मेला आयोजना हुँदै आएको अध्यक्ष पुनले जानकारी दिनुभयो । आयोजकले सबै श्रद्धालु भक्तजनलाई कार्यक्रममा सहभागी भई मेला सफल बनाउन अनुरोध समेत गरेको छ।











