कपिलवस्तु -कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनमोर्चाले आफ्नो विस्तृत घोषणापत्र सार्वजनिक गर्दै विभिन्न नीति तथा कार्यक्रम अघि सारेको छ। प्रतिनिधि सभा सदस्य उम्मेदवार केर सिंह आलेले राष्ट्रियता, सुशासन, विकास र जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकतामा राखिएको बताएका छन्।
घोषणापत्रमा राष्ट्रिय स्वाधीनताको संरक्षण, गणतन्त्रको सुदृढीकरण र स्थानीय सुशासनको मजबुतीलाई प्रमुख एजेन्डा बनाइएको छ। शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार, रोजगारी सिर्जना, कृषक तथा मजदुरका समस्या समाधान, तथा उत्पादनमुखी अर्थतन्त्रको विकासमा जोड दिइएको छ।
यसैगरी, भ्रष्टाचार नियन्त्रण, बजार व्यवस्थापन, सामाजिक सुरक्षा सुदृढीकरण, सहकारी क्षेत्रको प्रवर्द्धन, तथा युवालाई स्वरोजगारमुखी कार्यक्रममार्फत सशक्त बनाउने योजना समेटिएको छ। पूर्वाधार विकासअन्तर्गत सडक, सिँचाइ, खानेपानी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

दलले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, विपन्न तथा सीमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्ने र क्षेत्रीय विकासलाई तीव्रता दिने लक्ष्यसहित चुनावी अभियानलाई अगाडि बढाएको जनाएको छ।












