कपिलवस्तु — शिवराज नगरपालिका चन्द्रौटा वडा नम्बर ३ अन्तर्गत मदवामा आयोजित वडा भेलामा बिद्रोहन थारुको नेतृत्वमा १८ जना नेकपा एमालेमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिरेन्द्र कुमार कनोडियाले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कनोडियाले स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा र पूर्वाधार सुधारलाई आफ्नो प्रमुख प्राथमिकता रहेको बताए। उनले वडा र नगरको समग्र विकासका लागि एमालेप्रति जनविश्वास बढ्दो रहेको उल्लेख गर्दै सबैलाई सहकार्यका साथ अघि बढ्न आह्वान गरे।
वडा भेलामा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। एमाले प्रवेशसँगै मदवामा पार्टीको संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।











