कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाका स्थानीय तहहरूमा निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ। आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आचारसंहिता २०८२ को कार्यान्वयनमा कडाइ गर्न सूचित गरिएको हो।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद–३ दफा ५ को खण्ड (क) र (ख) मा उल्लेखित प्रावधान विपरीत केही स्थानीय तहमा आचारसंहिता उल्लङ्घन भएको भन्ने गुनासो प्राप्त भएपछि यस्तो निर्देशन दिइएको जनाइएको छ।
सूचनामा स्थानीय कार्यपालिकाका पदाधिकारीले आफ्नो बहाल रहेको पदको दुरुपयोग गरी आफ्नो स्थानीय तह बाहेक अन्य स्थानमा समेत सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार–प्रसारमा संलग्न हुन नपाउने स्पष्ट गरिएको छ। साथै सरकारी स्रोत र साधन प्रयोग गरी निर्वाचन प्रचार–प्रसार गर्नु आचारसंहिता विपरीत हुने भएकाले यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता २०८२ लाई पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै उल्लङ्घन भएमा कानुनअनुसार कारबाही हुने जानकारी गराएको छ।











