कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर २ मा आयोजित वडा भेलामा सम्बोधन गर्दै एमाले उम्मेदवार बिरेन्द्र कुमार कनोडियाले सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या एक–दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। हल्लानगरमा सुकुम्बासी एवं अव्यवस्थित रूपमा बसोबास गर्दै आएका स्थानीयको उपस्थितिमा आयोजित कार्यक्रममा उम्मेदवार बिरेन्द्र कुमार कनौडियाले यस्तो प्रतिबद्धता जनाएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै कनौडियाले सुकुम्बासीको पहिचान तथा विवरण संकलनको काम सम्पन्न भइसकेको उल्लेख गर्दै अब त्यसैका आधारमा स्थायी समाधानतर्फ अघि बढ्ने बताए।
उनले एमाले सरकारमा आए पछि तीब्र रुपमा सो काम अगाडी बडाई कानुनी प्रक्रियामार्फत सुरक्षित र व्यवस्थित बसोबासको व्यवस्था मिलाइने स्पष्ट पारे।
कार्यक्रममा बोल्दै नेत्रराज अधिकारीले सुकुम्बासीको पहिचान भइसकेपछि अब कार्यान्वयनमै ध्यान दिनुपर्ने बताए।
वडा भेलामा स्थानीयवासीहरूले खानेपानी, सडक, शिक्षा,विद्युत स्वास्थ्य र रोजगारीका विषयमा आफ्ना समस्या तथा सुझाव राखेका थिए। उम्मेदवार कनौडियाले पहिचान भइसकेका सुकुम्बासीको हक सुनिश्चित गर्दै चरणबद्ध रूपमा समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा वडा तहका नेता–कार्यकर्ता, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।











