कपिलवस्तु — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कपिलवस्तुमा बिहान १० बजेसम्म करिब १७ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ।
मतदानका लागि बिहानैदेखि मतदाता उत्साहपूर्वक मतदान केन्द्रतर्फ जाने क्रम जारी रहेको छ। जिल्लामा करिब ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने करिब २ हजार ९ सय कर्मचारी मतदान प्रक्रियामा खटिएका छन्। तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा २ सय ३६ मतदान स्थलमा ४ सय ९१ मतदान केन्द्र कायम गरिएको छ।
सुरक्षा र पारदर्शितालाई ध्यानमा राख्दै जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा तारजाली र सिसिटिभीसहितको मतगणनास्थल निर्माण गरिएको छ।
जिल्लामा कुल ३ लाख ९६ हजार २६५ मतदाता रहेका छन्। यस निर्वाचनमा दल तथा स्वतन्त्र गरी ९८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचन अधिकृतको कार्यालयले ढुक्क र शान्तिपूर्ण वातावरणमा मतदानमा सहभागी हुन सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।











