कपिलवस्तुको विजयनगर गाउँपालिका–२ मा नेपाली कांग्रेसका युवा नेता तथा पूर्व इकाई सभापति नुर मोहम्मद शाह नुर मोहम्मद शाह नेकपा (एमाले) मा प्रवेश गरेका छन्। स्थानीय स्तरमा सक्रिय र प्रभावशाली युवा नेताका रूपमा परिचित शाहको पार्टी परिवर्तनसँगै विजयनगरको राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ।
एक औपचारिक कार्यक्रमका बीच शाहलाई मुस्लिम इत्तेहाद नेपाल लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष अनवर मोहम्मद मुसलमान तथा प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदवार बिरेन्द्र कुमार कनौडिया ले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा एमालेका स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्वागत कार्यक्रममा बोल्दै कनौडियाले शाह जस्ता ऊर्जाशील र सक्रिय युवा नेताको आगमनले पार्टी संगठन थप मजबुत हुने विश्वास व्यक्त गरे। उनले विजयनगर क्षेत्रमा विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्याए। “एमालेले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य लिएको छ, यस अभियानमा नुर मोहम्मद शाहको साथले थप ऊर्जा मिल्नेछ,” उनले भने।
त्यसैगरी अनवर मोहम्मद मुसलमानले मुस्लिम समुदायसहित सबै वर्ग–समुदायलाई समेटेर अघि बढ्ने एमालेको नीति रहेको उल्लेख गरे। उनले सामाजिक सद्भाव, सहिष्णुता र समावेशितालाई सुदृढ बनाउँदै विकासको यात्रामा अघि बढ्न सबैलाई आह्वान गरे।
पार्टी प्रवेशपछि बोल्दै शाहले नेपाली कांग्रेसमा लामो समयसम्म सक्रिय रहँदै संगठन विस्तार र जनसेवामा योगदान दिएको स्मरण गरे। बदलिँदो राजनीतिक परिस्थिति र देशको विकासप्रतिको दृष्टिकोणका आधारमा आफू एमालेमा आबद्ध भएको उनले बताए। “राष्ट्रियता, स्थिरता र विकासको स्पष्ट कार्यदिशा एमालेसँग देखेँ, त्यसैले नयाँ यात्रा सुरु गरेको हुँ,” शाहले भने। उनले विजयनगर गाउँपालिकाको समग्र विकास, युवाको सशक्तीकरण, रोजगारीका अवसर विस्तार तथा सामाजिक एकताको पक्षमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
यसैबीच आजै नविन अर्यालको नेतृत्वमा २० जना युवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रवेश गरेका छन्। उक्त समूहलाई पनि कार्यक्रममा स्वागत गरिएको थियो।
शाहसहित रासपाबाट आएका युवाहरूको प्रवेशलाई स्थानीय राजनीतिक समीकरणमा अर्थपूर्ण परिवर्तनका रूपमा हेरिएको छ। विशेष गरी युवा तथा मुस्लिम समुदायबीच देखिएको यस सक्रियताले विजयनगर क्षेत्रको आगामी निर्वाचनमा शक्ति सन्तुलनमा प्रभाव पार्न सक्ने राजनीतिक विश्लेषण गरिएको छ।











