कपिलवस्तु । दाँतको उपचारलाई सहज, छिटो र आधुनिक बनाउने उद्देश्यले कपिलवस्तुको तौलिहवास्थित कृषाङ्ग डेन्टल क्लिनिकले जिल्लामै पहिलो पटक इन्ट्राओरल स्क्यानर भित्र्याएको छ । आधुनिक प्रविधिको प्रयोगबाट दाँतको परीक्षण, उपचार र सरसफाइ सेवालाई थप प्रभावकारी बनाउने लक्ष्यसहित क्लिनिकले नयाँ उपकरण सञ्चालनमा ल्याएको जनाएको छ ।
इन्ट्राओरल स्क्यानरको प्रयोगबाट मुखभित्रका दाँतलाई डिजिटल रूपमा स्क्यान गरी कम्प्युटरको स्क्रिनमा थ्रीडी स्वरूपमा हेर्न सकिन्छ । यसले दाँतको नाप लिन परम्परागत रूपमा मुखभित्र मोल्डिङ सामग्री राख्नुपर्ने प्रक्रियाको झन्झट कम गर्नुका साथै उपचारलाई सहज र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने क्लिनिकले जनाएको छ ।
क्लिनिकका अनुसार डिजिटल स्क्यानिङ प्रविधिले दाँतको अवस्थालाई स्पष्ट रूपमा अवलोकन गर्न र आवश्यक उपचारको योजना बनाउन सहज बनाउँछ । यसबाट सेवाग्राहीले आधुनिक प्रविधिमा आधारित दन्त उपचार सेवा तौलिहवामै प्राप्त गर्न सक्नेछन् ।
दाँतको परीक्षण र उपचारसँगै सरसफाइ सेवालाई पनि आधुनिक बनाउने उद्देश्यले क्लिनिकले पीटी–ए डेन्टल स्केलर एन्ड एयर पोलिसर नामक उपकरणबाट दाँत सफा गर्ने तथा टलकाउने सेवा प्रदान गरिरहेको छ ।
क्लिनिकका सञ्चालक दन्त चिकित्सक डा. प्रभातकुमार श्रीवास्तवका अनुसार उक्त उपकरणको सहायताले दाँत तथा गिजाको सफाइ गर्नुका साथै पान, गुट्खालगायतका कारण दाँतमा देखिने दाग र जमेको फोहोर हटाउन सहयोग पुग्छ । उपकरणको प्रयोगले दाँत सफा गर्ने क्रममा हुने असहजता तथा चिसो–तातोका कारण उत्पन्न हुने संवेदनशीलता कम गर्नसमेत मद्दत पुग्ने उहाँले बताउनुभयो ।
दाँतको स्वास्थ्य र सरसफाइप्रति सचेतना बढ्दै गएको अवस्थामा आधुनिक उपकरणको प्रयोगले दन्त उपचार सेवालाई थप सहज बनाउन सक्ने क्लिनिकको विश्वास छ । जिल्लामै पहिलो पटक इन्ट्राओरल स्क्यानर भित्र्याएर सेवा विस्तार गरिएको जनाउँदै क्लिनिकले प्रविधिमैत्री उपचारलाई प्राथमिकता दिएको जनाएको छ ।
आधुनिक दन्त प्रविधिको प्रयोगसँगै सेवाग्राहीले दाँतको परीक्षणदेखि सरसफाइसम्मका सेवा सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।
भुपाल थापाबाट









