कपिलवस्तु -
नेकपा एमालेको जरा अभियानले शिवराजमा तीव्रता पाएको छ। विभिन्न वडा कमिटीका बैठक, टोल कमिटी गठन लगायतका कार्यक्रमहरू भइरहेका छन्। आज नेकपा एमाले शिवराज नगरपालिका वडा नम्बर ४ ले संगठन विस्तारका लागि वडा केन्द्रित जरा अभियान सुरु गरेको छ। एमालेको वडा हुँदै टोलसम्म जरा अभियान अन्तरगत वडा कमिटीले आज विस्तारित बैठक र जरा केन्द्रित अभियान अन्तर्गत महत्वपूर्ण छलफल र निर्णय गरेको वडा कमिटी अध्यक्ष राजेन्द्र बहादुर खत्रीले बताउनुभयो।
बैठकमा पार्टी संगठन सुदृढीकरण, सदस्यता विस्तार, स्थानीय तहमा पार्टीको भूमिका प्रभावकारी बनाउने, र आम जनतामाझ पार्टीको पहुँच विस्तार गर्ने विषयमा गहन छलफल गरिएको थियो।
कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारीले वडा स्तरमा पार्टी संगठन मजबुत बनाउन रणनीति तयार गर्न आवश्यक औंल्याउँदै जरा केन्द्रित अभियानलाई प्रभावकारी बनाउन जोड दिनुभयो। साथै, सदस्यता वितरणलाई व्यवस्थित बनाउने र स्थानीय मुद्दाहरूमा पार्टीको सक्रिय भूमिका बढाउने विषयमा पनि चर्चा गर्नुभयो।
प्रदेश कमिटी सदस्य लंक बहादुर हमालले एमालेलाई कमजोर बनाउन विभिन्न संजालहरू हावी भएको आरोप लगाउँदै मुलुकको स्थायित्वका लागि एमाले मजबुत हुनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले संगठनलाई जरा देखि बलियो बनाउन कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नगर कमिटी अध्यक्ष महादेव पोखरेलले संगठन सुदृढीकरणका लागि जरा अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै यसको सफलताका लागि सबैले लाग्नुपर्ने उल्लेख गर्नुभयो। जरा अभियान अनुसार घरदैलो अभियानलाई तीव्र बनाउनुपर्ने धारणा राख्नुभयो।
जिल्ला कमिटी सदस्य तथा वडा नं ४ इन्चार्ज मोहन केसी लगायतले निर्देशन र शुभकामना मन्तव्य राख्नुभएको थियो।












