भुपाल थापा, कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका ५७९ जना नगरबासीले निःशुल्क रक्त सेवा लिएका छन् । नगरपालिकाले रक्तसञ्चार केन्द्र बुटवल र भैरहवासँग गरेको सम्झौताअनुसार नगरबासीलाई आवश्यक परेको अवस्थामा निःशुल्क रक्त सेवा उपलब्ध गराएको हो । सेवाग्राहीका लागि आवश्यक पर्ने रगतको सेवाशुल्क नगरपालिकाले भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।
सम्झौताअनुसार रक्तसञ्चार केन्द्रले उपलब्ध गराएको सेवाबापत नगरपालिकाले प्रतिव्यक्ति ९५० रुपैयाँका दरले सेवाशुल्क भुक्तानी गरेको छ । गत आर्थिक वर्ष २०८२/०८३ मा मात्रै रक्त सेवाका लागि नगरपालिकाले ६ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेशप्रसाद गुप्ताका अनुसार उपचारका क्रममा नियमित रूपमा रगत आवश्यक पर्ने बिरामीका लागि यो सेवा महत्वपूर्ण बनेको छ । विशेषगरी डायलासिस गराइरहेका बिरामीलाई पटक–पटक रगत आवश्यक पर्ने भएकाले उनीहरूको उपचार खर्च थप बढ्न सक्ने उहाँले बताउनुभयो ।
कतिपय बिरामीलाई डायलासिसका क्रममा पटक–पटक रगत आवश्यक पर्ने भएकाले उपचारमा थप आर्थिक भार पर्ने उहाले बताउनुभयो । नगरपालिकाले रक्त सेवाको व्यवस्थापन गरेर त्यस्ता बिरामीलाई समेत सहयोग गर्दै आएको उहाले बताउनुभयो । नगरपालिकाले रक्तसञ्चार केन्द्र बुटवल र भैरहवासँगको समन्वयमा नगरबासीलाई यो सेवा उपलब्ध गराउँदै आएको हो । यसबाट उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामी तथा उनीहरूका परिवारलाई तत्काल रगत व्यवस्थापन गर्न सहज हुनुका साथै सेवाका लागि लाग्ने शुल्क समेत बचत भएको नगरपालिकाले जनाएको छ ।
आगामी दिनमा पनि आवश्यकताअनुसार यस्ता स्वास्थ्य सेवाको व्यवस्थापनलाई निरन्तरता दिने नगरपालिकाको तयारी छ । नगरप्रमुख सुदीप पौडेलले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । नगरबासीको स्वास्थ्य उपचारमा सहज पहुँच सुनिश्चित गर्न निःशुल्क रक्त सेवा, स्वास्थ्य बीमा तथा आवश्यक स्वास्थ्य सेवाको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएको उहाँले बताउनुभयो ।
आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै गएको उहाँको भनाइ छ । आर्थिक अभावका कारण कसैले पनि आवश्यक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको नगरप्रमुख पौडेलले बताउनुभयो ।
उहाँका अनुसार स्थानीय सरकारको लगानी प्रत्यक्ष रूपमा नागरिकको स्वास्थ्यमा पुग्ने गरी निःशुल्क रक्त सेवा लगायतका कार्यक्रम सञ्चालन गरिएको हो । आगामी दिनमा पनि नगरबासीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गरी कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिने उहाँले बताउनुभयो ।









