रूपन्देही । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन् । उनी यसअघिको समितिको उपसभापति थिए । हिजो राति भएको मतदानको आज बिहान गणना सकिएको थियो ।
सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको र कसैले पनि स्पष्ट मत प्राप्त नगरेकाले धेरै मत ल्याउने शालिकराम र गोपालबीच पुनः मतदानको तयारी गरिए पनि अन्तिममा सहमतिबाट शालिकराम निर्वाचित भएको निर्वाचनमा समिति सदस्य गुनाराम घिमिरेले जनाए ।
सभापति पदका लागि ६ जनाबीच भएको प्रतिष्पर्धामा रुपन्देहीका शालिकराम घिमिरेले सबैभन्दा बढी १ सय ९९ मत र त्यसपछि अर्घाखाँचीका गोपाल घिमिरेले ८७ मत ल्याएका थिए । त्यसैगरी रुपन्देहीका गणेश पौडे्लले ८४ मत, बाँकेका डा.राजकुमार सुवेदीले ८०, रुपन्देहीका मञ्जु भुसालले ७१, रुपन्देहीका मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए । हिजो राती सम्पन्न मतदानमा पाँच सय ५२ मत खसेको थियो ।
नवनिर्वाचित शालिकराम सभापति रवि पक्षका हुन् भने प्रतिस्पर्धामा रहेका गोपाल बालेन पक्षका हुन् । दुवै पक्षका ३–३ जना मैदानमा पुगेका थिए । पहिलो चरणको निर्वाचनमा बालेन पक्षका उम्मेदारको धेरै कम मत आएको छ । बालेन पक्षबाट गोपाल, मन्जु र मधु रहेका थिए । मधुको सबैभन्दा कम १९ मत आएको छ ।









