कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ निवासी युवा समाजसेवी तथा नेकपा (एमाले) शिवराज नगर सचिवालय सदस्य रणदिप खतिवडाले आफ्नो ४८ औँ जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै ज्ञानज्योति आधारभूत विद्यालय, शिवराज–५ का विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नु भएको छ।
जन्मदिनमा गरिने अनावश्यक खर्चले पनि विपन्न वर्गका बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने विश्वासका साथ खतिवडाले विद्यालयमा आयोजित कार्यक्रममा ९० जना छात्रछात्रालाई एक–एक थान कापी, पेन्सिल र इरेजर वितरण गर्नु भएको विद्यालयकी प्रधानाध्यापक सीता अधिकारीले जानकारी दिनु भयो।
कार्यक्रममा बोल्दै शिवराज–५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले जन्मदिनजस्ता अवसरमा फजुल खर्च गर्नुभन्दा शिक्षा र समाजका लागि यस्ता रचनात्मक काममा गरिएको लगानी दीर्घकालीन रूपमा सार्थक र उपलब्धिमूलक हुने बताउनु भयो।
सोही अवसरमा राष्ट्रिय मानवअधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति तथा रणदिप खतिवडाका बुवा विष्णु प्रसाद खतिवडाले छोराले हरेक वर्ष जन्मदिनलाई फरक र सकारात्मक कार्यमार्फत मनाउँदै आएको स्मरण गर्दै यस वर्ष विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई ध्यानमा राखेर सामग्री वितरण गरिएको बताउनु भयो।
जन्मदिन व्यक्तिगत खुशीको मात्र विषय होइन, समाजप्रतिको दायित्व सम्झिने अवसर पनि हो। छोरा रणदिपले सामाजिक सेवामा देखाएको निरन्तरता हामी सबैका लागि प्रेरणादायी रहने अपेक्षा गरेको बताउनु भयो ।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर सुनारले यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल बढ्ने उल्लेख गर्दै सहयोगी मनका लागि धन्यवाद व्यक्त गर्नु भयो। विद्यालय परिवारको तर्फबाट रणदिप खतिवडालाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक तथा समाजसेवीहरूले रणदिप खतिवडाको सामाजिक भावना र सेवाभावको प्रशंसा गर्दै दीर्घायु, सुस्वास्थ्य तथा सामाजिक सेवामा अझ सक्रिय भूमिका निर्वाह गर्न सफलताको शुभकामना व्यक्त गरेका थिए। सहभागीहरूले जन्मदिनलाई यसरी शैक्षिक र सामाजिक कार्यसँग जोडेर मनाउनु अनुकरणीय रहेको धारणा व्यक्त गरे।











