कपिलवस्तु, आश्विन ६ –नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा कपिलवस्तु इञ्चार्ज गिरधारीलाल न्यौपानेले देशमा देखिएको राजनीतिक अस्थिरताको मुख्य कारण चुच्चे नक्सा विवाद भएको बताएका छन्।
कपिलवस्तुमा आयोजित एमाले जिल्ला सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले सार्वभौमिक हितका लागि सार्वजनिक गरेको नयाँ राजनीतिक–प्रशासनिक नक्सापछि देशी–विदेशी शक्ति केन्द्रबाट निरन्तर दबाब आएको बताए।
उनका अनुसार लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सार्वजनिक भएपछि राष्ट्रवादी शक्तिलाई कमजोर पार्ने उद्देश्यले विभिन्न गतिविधि भइरहेका छन्।
“यो केवल आन्तरिक मुद्दा होइन, यसको जरा बाह्य हस्तक्षेपमा पनि छ,” उनले भने, “राष्ट्रवादलाई कमजोर पार्ने योजनाअनुरूप शक्ति केन्द्रहरू सक्रिय छन्।”
न्यौपानेले नेपालको स्वाधीनता, राष्ट्रिय पहिचान र सीमा सुरक्षामा सम्झौता गर्न नसकिने उल्लेख गर्दै जनस्तरमा सचेतना फैलाउनुपर्नेमा जोड दिए।
उनले विगतका अनुभवले देखाएझैँ राष्ट्रियता र स्वाभिमानको सवालमा कुनै नेपाली पछि नहट्ने विश्वास व्यक्त गरे।
बैठकमा अन्य वक्ताहरूले पनि राष्ट्रिय हित र सीमा सुरक्षाको सवालमा सबै दल, नागरिक समाज र आम जनतालाई एकजुट हुन आग्रह गर्दै बाह्य दबाबको सामना गर्न स्पष्ट धारणा लिन नेतृत्वलाई चुनौतीको रूपमा लिएको बताए।