काठमाडौं —एमालेको विधान महाधिवेशन (भदौ २०–२२) मा सहभागी हुने प्रतिनिधिको संख्या घट्ने भएको छ । २०७८ मंसिरमा चितवनमा भएको राष्ट्रिय महाधिवेशनका प्रतिनिधि अद्यावधिक गर्दा प्रतिनिधि घटेका हुन् ।
राष्ट्रिय महाधिवेशनमा २ हजार ७७ प्रतिनिधि भए पनि यसपटक करिब ३ दर्जन प्रतिनिधि घट्ने संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले बताए । ‘महाधिवेशन प्रनिनिधि अद्यावधिक गर्दा करिब ३ दर्जन प्रतिनिधि घट्ने देखिएको छ,’ उनले भने, ‘मृत्यु भएका, कारबाहीमा परेका र लामो समयदेखि विदेश बस्दै आएका प्रतिनिधि घटेका हुन् ।
उनले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा राजनीतिक दस्तावेज लेखनको मस्यौदा सकिन लागेको, सांगठनिक प्रतिवेदन लेखन पनि भइरहेको बताए । ‘राजनीतिक, सांगठनिक र प्राविधिक काम सकिन अन्तिम चरणमा छ,’ उनले भने, ‘यो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन महत्वपूर्ण हुन्छ । त्यसकै जगमा सांगठनिक र विधान लेखिन्छ ।’
एमालेले विधान मस्यौदामा सुझाव दिन प्रदेश र जिल्ला तहमा पठाएको छ । भदौ १० भित्र विधान मस्यौदामाथि सुझाव पठाइसक्न केन्द्रीय कार्यालयले निर्देशन दिएको छ ।
विधान महाधिवेशनमा अध्यक्ष ओलीले ‘राष्ट्रिय निर्णायक’ शक्ति बनाउने ‘मिसन ०८४’ केन्द्रित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । एमालेले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को सैद्धान्तिक अवधारणासहित आगामी दिनमा पार्टीको राजनीतिक, वैचारिक र सांगठनिक विषय प्रतिवेदनमा आउने छ ।
एमालेले आगामी निर्वाचनमा गठबन्धन नगर्ने निष्कर्ष निकालिसकेको छ । माओवादी केन्द्रले आगामी निर्वाचनमा वामपन्थी मोर्चा बनाउन खोजिरहेको बेला एमालेले प्रतिस्पर्धी कांग्रेससित भिड्ने गरी राजनीतिक र सांगठनिक प्रतिवेदन र कार्यक्रम बनाउन विधान महाधिवेशनबाट पारित गर्ने छ ।









