कपिलवस्तु । भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा कपिलवस्तु प्रहरीले ठूलो परिमाणमा कुखुराका चल्ला बरामद गरी दुई जनालाई पक्राउ गरेको छ । भारतीय सिमा क्षेत्रका प्रहरिलाई चुनौती दिदै नेपाल प्रवेश गराएका चल्ला अन्ततः चन्द्रौटा प्रहरीको फन्दामा परेका छन ।
बुधबार राति शिवराज नगरपालिका ८ बाट दुई वटा भारतिय मोटरसाइकल नियन्त्रणमा लिएर जम्मा २६ कार्टुनमा राखिएका २ हजार ५ सय अवैध चल्ला बरामद गरेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले बताए । नियन्त्रणमा लिइएका मोटरसाइकलमध्ये MH12HK5598 नम्बरको चालक कपिलवस्तु विजयनगर गाउँपालिका–४ नैरगिया गाउँका २५ वर्षीय सुरेन्द्र यादव र UP55C0109 नम्बरको चालक सोही ठाउँ बस्ने २४ वर्षीय अपरम मुसलमान रहेका छन् ।
प्रहरीका अनुसार, दुवै मोटरसाइकलमा १३/१३ वटा ,कार्टुनमा राखिएका ती चल्लाको अनुमानित मूल्य करिब १ लाख १२ हजार ५ सय रुपैयाँभन्दा बढी हुने देखिएको छ । बरामद गरिएका चल्ला र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरिले जनाएको छ ।











