कपिलवस्तु — वैज्ञानिक अभ्यास र आधुनिक प्रविधिको माध्यमबाट कृषि उत्पादनमा वृद्धि गर्न लक्ष्य राख्दै कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ र ५ मा अवस्थित रहतावल सामुदायिक वन समूहको आयोजनामा तीन दिने कृषक लक्षित तालिम सम्पन्न भएको छ।
शिवराज नगरपालिकाको कृषि विकास शाखाको प्राविधिक सहयोगमा आयोजित तालिममा करिब एक सय कृषकको सहभागिता रहेको थियो। फरक फरक स्थानका कृषकहरूलाई समेट्दै तालिम दिइएको हो।
तालिमको तेस्रो दिन आज पूर्व रहटकोलमा मा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरीले जलवायु परिवर्तनसँगै कृषि उत्पादनमा गिरावट आएको बताउँदै वैज्ञानिक विधिमा आधारित खेती अनिवार्य भएको बताउनुभयो। समय र प्रविधिको समायोजनमै कृषि गरे सफल हुने बताउनु भयो ।यस्ता तालिमले कृषकलाई आत्मनिर्भर बनाउने दिशामा सहयोग पुर्याउने बताउनु भयो ।
कार्यक्रममा वडा नं. ५ का अध्यक्ष नेत्र बेल्बासेले आधुनिक कृषि प्रणालीमा आधारित ज्ञानलाई व्यवहारमा उतार्न यस्ता तालिम आवश्यक रहेको बताउनुभयो। आजको खेती परम्परागत तरीकाले सम्भव छैन प्रविधिमा आधारित ज्ञान र अभ्यास हुनु पर्ने बताउनु भ्स्यो ।
यसैगरी रहतावल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यज्ञबहादुर बेल्बासेले खेतीयोग्य जमिन प्लटिङमा परिणत हुँदा उत्पादनमा असर परेको भन्दै सामूहिक खेती र वैज्ञानिक प्रणालीमार्फत मात्रै सुधार सम्भव हुने बताउनुभयो। उहाँले आगामी नीतिमा सामूहिक खेतीलाई प्राथमिकता दिइने र बीउ, मल तथा प्राविधिक सहयोगमा अनुदान दिइने जानकारी दिनुभयो।
तालिममा कृषि विकास शाखाकी अधिकृत सान्तिमाया अधिकारीले वैज्ञानिक खेती प्रणाली, मलबीउ व्यवस्थापन, माटो परीक्षण, कीरा नियन्त्रण लगायत विषयमा प्राविधिक प्रशिक्षण दिनुभएको थियो।
रहतावल सामुदायिक वन समूहले यसअघि रक्तदान, स्वास्थ्य शिविरजस्ता सामाजिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।










