(विजयनगर) कपिलवस्तु, २५ जेष्ठ ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा अटाे रिक्सा चालकलाई तालिम सुरु भएको छ । गाउँपालिकाकाे आयाेजना र गुरुकुल टेक्निकल कलेज रुपन्देहीकाे प्राविधिक सहयोगमा अटाे चालकलाई १५ दिने तालिम सुरु गरिएको जनाइएकाे छ ।
गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले अटाे रिक्सा व्यवस्थापनका लागि तालिम सञ्चालन गरिएको बताए । उनले चालकलाई मापदण्ड र कानुनी प्रावधानकाे प्रक्रियालाई सहज बनाउने उद्देश्यले तालिमकाे आयाेजना गरिएको बताए । जाेखिम र असुरक्षालाई मध्यनजर गर्दै पालिकाभित्रका अटाे रिक्सा चालकलाई लाइसेन्स बनाउने प्रक्रियामा महत्त्वपूर्ण टेवा पुग्ने अध्यक्ष थापाकाे भनाइ छ ।
यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले यस तालिमले विभिन्न दुर्घटनालाई न्यूनीकरणमा मदत पुग्ने विश्व व्यक्त गरिन् । उनले कतिपय कानुनी प्रावधान थाहा नहुँदा कानुनी चपेटामा परि झेल्दै आएका समस्याबाट सचेत हुनुकाे साथै उनीहरुकाे व्यावसायिकतामा पनि सहजता हुने बताइन् । अटाे रिक्साले सडक दुर्घटना बढेकाे हुँदा यस तालिमले व्यवस्थापकीय पक्षमा सघाउ पुर्याउने उपाध्यक्ष चाैधरीले जिकिर गरिन् ।
गुरुकुल टेक्निकल कलेजका प्रबन्धक ईश्वरी प्रसाद भुसालले गाउँपालिकाभित्रका ४० जना अटाे रिक्सा चालक तालिममा सहभागी भएकाे जानकारी दिए । उनले चालकलाई ट्राफिक नियम, कानुनी प्रावधान, सवारीसाधनकाे मापदण्ड लगायत विषयवस्तुलाई जानकारी गराइने उनले बताए ।











