वैशाख १९ र २० गते दुई दिनसम्म सञ्चालन हुने यो शिविर शिवराज अस्पताल, बहादुरगञ्जमा आयोजना हुँदै छ ।
“Heart & Kidney – Free Health Camp” नाम दिइएको शिविरमा मुटु र मृगौलासम्बन्धी विविध स्वास्थ्य सेवा निःशुल्क रूपमा प्रदान गरिनेछ । शिविरमा विशेषज्ञ चिकित्सकद्वारा परामर्श, ईसीजी, इको कार्डियोग्राफी, रक्त परीक्षण तथा आवश्यक औषधिसमेत वितरण गरिने छ ।
शिविरमा उपलब्ध सेवाहरू: १. मुटुरोग तथा मृगौलारोग सम्बन्धी विशेषज्ञ परामर्श प्रदान गरिनेछ ।
शिविरमा ईसीजी परीक्षण, इको कार्डियोग्राफी,
आवश्यक औषधि वितरण, चिकित्सकको सिफारिस अनुसार रक्त परीक्षण हुनेछ ।
शिविरबारे जानकारी दिँदै कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले भन्नुभयो , “स्वास्थ्य नागरिक नै समृद्ध नगरको आधार हो भन्ने विश्वासका साथ हामीले यस्तो खालको स्वास्थ्य शिविर सञ्चालन गर्न लागेका हौं । विशेषगरी मुटु र मृगौला जस्ता जटिल रोगहरूको पहिचान र उपचारका लागि यो शिविर लाभदायी हुने विश्वास लिएको छु ।”
शिविरको कार्यक्रम संयोजक तथा शिवराज अस्पतालका प्रतिनिधि डा. दुर्गालाल गुप्ताले भने, “यो शिविर विशेषज्ञ स्वास्थ्यकर्मीहरूको टोलीले सञ्चालन गर्नेछ ।
यहाँ आउने प्रत्येक बिरामीको प्रारम्भिक जाँच, रिपोर्ट परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण निःशुल्क गरिनेछ । ग्रामीण क्षेत्रमा यस्ता सेवा पुर्याउनु नै हाम्रो उद्देश्य हो ।”
शिविरमा कृष्णनगर नगरपालिकाको आयोजना रहेको छ भने प्राविधिक सहयोग काठमाडौंस्थित Save The Heart – मुटु जोगाऔँ अभियान, महाराजगञ्ज मेडिकल क्याम्पस अन्तर्गत त्रिवि शिक्षण अस्पतालको मृगौला तथा प्रत्यारोपण विभाग, र नेपाल कार्डियो डाइबिटिज एण्ड थाइराइड सेन्टर, बुढानीलकण्ठले प्रदान गरेका छन्।
नगरपालिकाले सम्पूर्ण नगरवासीलाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराई लाभ उठाउन आग्रह गरेको छ।