कपिलवस्तु, बिजयनगर —कपिलवस्तुको बिजयनगर गाउँपालिकाको चिराई खोलामा मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन भएको तथ्य सार्वजनिक भएको छ। श्याम एण्ड सन्स निर्माण सेवा महाराजगञ्जले ठेक्का पाएर गैरकानुनी रूपमा बालुवा, गिट्टी लगायतका सामग्री उत्खनन गर्दै आएको छ।
यस कार्यमा वडा नं। ५ का अध्यक्ष अनवर मोहम्मद नातेदारको पनि संलग्नता हेको स्थानीयले आरोप लगाएका छन । यता, प्रशासन, प्रहरी, गाउँपालिका र ठेकेदारबीचको मिलेमतोमा नदी दोहन भएको आरोप व्यापक रूपमा उठेको छ।
ठेकेदारले नक्कली बिल प्रयोग गरेर सामग्री निकासी गरिरहेको पाइएको छ। यसरी गैरकानुनी रूपमा उत्खनन गर्दा पर्यावरणमा गम्भीर असर परेको स्थानीयको गुनासो छ। खोलाको संरचना परिवर्तन हुँदा बाढीको जोखिम बढेको, नदी कटान सुरु भएको र आसपासका बस्तीहरू जोखिममा परेको जनाइएको छ।
त्यति मात्र होइन, टिप्परको लगातार आवाज र धुलो धूवाँले स्थानीयको स्वास्थ्यमा असर पुर्याएको छ। जनताको बारम्बारको आग्रहपछि पनि ठेकेदारले बाटोमा पानी हाल्ने समेत नगरेको स्थानीयले बताएका छन्।
नदीमा दोहन भैरहँदा सम्बन्धित निकायहरू बेखबरझैँ बसेको आरोप छ। यस विषयमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोमाराम रिजालले ठेकेदारविरुद्ध कारबाही हुने बताएका छन्। उनले जिल्ला समन्वय समिति र पालिकाको टोलीले अनुगमन गर्ने बताएका थिए, तर हालसम्म कुनै अनुगमन भएको छैन।
चिराई खोलाको अवैध उत्खनन, जनप्रतिनिधिको संलग्नता, नक्कली विल र प्रशासनको मौनताले गम्भीर प्रश्न उठाएको छ। स्थानीयले यस विषयमा गम्भीर ध्यान दिन र तत्काल कारबाही गर्न माग गरेका छन्।