सामुदायिक विद्यालयका शिक्षक १६ दिनदेखि आन्दोलनमा छन् । समाधान खोज्नुपर्ने सरकार र शिक्षकको दूरी झन् टाढिँदै छ । जसका कारण ११ वैशाखदेखि सुरु हुने कक्षा १२ का साढे पाँच लाख विद्यार्थीको परीक्षा नै अनिश्चित बनेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले तीन महिनाअघि नै परीक्षा तालिका सार्वजनिक गरेको थियो । परीक्षाको मिति नजिकिँदै गर्दा विद्यार्थी प्रवेशपत्रसमेत लिएर तयारीमा जुटिरहेका छन् । तर, परीक्षा बोर्डले दुई–तीन दिनको तयारीमा परीक्षा सञ्चालन गर्न सम्भव नहुने बताएको छ भने विद्यालयका प्रधानाध्यापकहरूले माग पूरा नभएको अवस्थामा परीक्षा सञ्चालनका लागि सडक छाड्न नसकिने जवाफ दिएका छन् ।
डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माविकी प्रअ रिता तिवारीले तोकिएको समयमा कक्षा १२ को परीक्षा नहुने बताइन् । ‘सरकारले संसद्को बैठक १२ वैशाखलाई तोकेको छ, शिक्षकहरूले १२ गतेसम्म सडक छाड्ने अवस्था नै हुँदैन । तर, परीक्षा तालिका ११ वैशाखदेखि नै भएकाले रोकिने निश्चित छ,’ उनले भनिन्, ‘उपत्यकाबाहिरबाट अनेकौँ दुःख गरेर शिक्षकहरू आउनुभएको छ, अहिले नै सडकबाट हट्दा हाम्रो मुद्दा स्थापित हुँदैन, सरकारले विगतमा पनि झुलाएको हो ।’











