चन्द्रौटा -
चैत ५ गते हुने स्ववियु निर्वाचनको सरगर्मी बढेको छ। विभिन्न विद्यार्थी संगठनमा आवद्ध नेताहरू निर्वाचन केन्द्रित छलफल र परामर्शमा व्यस्त छन्। आगामी चैत ५ गतेका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा भाग लिनका लागि कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा रहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पस नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुर र समयथान बहुमुखी क्याम्पस खरेन्द्रपुरमा विभिन्न विद्यार्थी संघ संगठन दर्ता भएका छन्।
चैत ५ गते हुने स्ववियु निर्वाचनमा भाग लिनका लागि नेपाल आदर्श बहुमुखी क्याम्पसमा ७ वटा संगठन र समयथान बहुमुखी क्याम्पसमा ८ वटा संगठन दर्ता भएका छन्। निर्वाचनमा भाग लिनका लागि नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), राष्ट्रिय प्रजातन्त्रीक विद्यार्थी सगंठन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन,अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी), र राष्ट्रिय विद्यार्थी मञ्चले नेपाल आदर्श बहुमुखी क्याम्पसमा संगठन दर्ता गराएका छन् भने, समयथान बहुमुखी क्याम्पसमा अखिल छैठौं सहित आठ संगठन दर्ता भएका छन्।
स्ववियु निर्वाचन कार्यतालिकाअनुसार, फागुन २७ मा देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता हुनेछ। प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयन पत्र नामावली दाखिला सोही दिन हुने छ। उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय कायम गरिएको छ। चैत ५ मा बिहान ८ देखि ४ बजेसम्म मतदान समय तोकिएको छ। फागुन २१ मा मतदाता सूची प्रकाशित गर्ने कार्यतालिकामा उल्लेख छ। निर्वाचन माहोलले नगरभित्रका दुबै क्याम्पसमा विद्यार्थी तथा राजनीतिक दलहरूको चहलपहल तीव्रता पाएको छ।
शिवराजका दुबै क्याम्पसको माहोल हेर्दा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बलियो देखिएको छ। नेपाल आदर्श बहुमुखी क्याम्पसमा २०७९ को स्ववियु निर्वाचनमा प्यानल नै जित्न सफल र समयथान बहुमुखी क्याम्पसमा १ मतले पराजित भएको हुँदा विद्यार्थी नेताहरू सक्रियतापूर्वक निर्वाचनमा लागेको र जित निश्चित रहेको बताएका छन्।












